काठमाडौं । काठमाडौँ उपत्यकामा एलपी ग्याँसको अभाव देखिएको छ। उपभोक्ताहरूले सिलिन्डर पाउन नसकेको गुनासो गरिरहँदा नेपाल आयल निगमले भने बजारमा ग्याँसको आपूर्ति सहज रूपमा भइरहेको दाबी गरेको छ।
उपभोक्ताहरू ग्याँस डिपो र डिलरहरूमा घन्टौँ लाइन बस्न बाध्य भएका छन् भने कतिपय क्षेत्रमा अभाव देखाएर महँगो मूल्य असुल्ने गरिएको गुनासो बढेको छ। निगमले भने भारतबाट नियमित रूपमा ग्याँस आयात भइरहेको र बजारमा मागभन्दा बढी आपूर्ति गरिएकाले कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस सञ्चय नगर्न र बजारमा कालोबजारी वा अभाव देखिएमा खबर गर्न आग्रह गरेको छ। साथै बजारमा अस्वाभाविक अभाव सिर्जना गर्ने डिलर तथा व्यापारीमाथि कडा अनुगमन र कानुनी कारबाही गरिने निगमले चेतावनी दिएको छ।




