नेपाली ओडीआई क्रिकेटको आठ वर्ष: ऐतिहासिक जितदेखि ओडीआई मान्यता जोगाउनेसम्मको यात्रा

प्रकाशित मिति:

काठमाडौं । नेपाली एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट यात्राले आठ वर्ष पूरा गरेको छ। सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटमार्फत पहिलोपटक ऐतिहासिक ओडीआई मान्यता पाएको नेपालले यस अवधिमा अनेकौँ उतारचढाव, ऐतिहासिक जित र पुनरागमनको रोमाञ्चक यात्रा तय गरेको छ।

सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडीआई खेल खेलेको नेपालले दोस्रो खेलमै ऐतिहासिक पहिलो जित दर्ता गरेको थियो। त्यसयता नेपालले संयुक्त अरब इमिरेट्स (युएई) र नेदरल्यान्ड्सविरुद्ध उनीहरुकै मैदानमा द्विपक्षीय शृङ्खला जित्दै आफ्नो क्षमता प्रमाणित गर्‍यो। नेपालको ओडीआई यात्राको सबैभन्दा स्मरणीय क्षण सन् २०२३ को आईसीसी विश्वकप लिग–२ बन्यो, जहाँ अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले चामत्कारिक रूपमा आफ्नो ओडीआई मान्यता जोगाएको थियो।

यसै यात्राको जगमा नेपालले पहिलोपटक एसिया कप खेल्दै भारत र पाकिस्तानजस्ता विश्वविख्यात टोलीसँग प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर पायो। घरेलु मैदानमा समर्थकको अभूतपूर्व साथ, कुशल भुर्तेल, आसिफ शेख, र दीपेन्द्रसिंह ऐरीजस्ता युवा खेलाडीको प्रदर्शन तथा कप्तान रोहित पौडेल र सोमपाल कामीको निरन्तरताले नेपाली ओडीआई क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ। आठ वर्षको यो यात्राले नेपाली क्रिकेटलाई विश्व मानचित्रमा स्थापित मात्र गरेको छैन, आगामी दिनमा पूर्णकालीन सदस्य राष्ट्र बन्ने बलियो आधारसमेत खडा गरेको छ।

ताजा समाचार