काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनअनुसार मनसुनी वायुको प्रभावका कारण कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित तिनका सहायक नदीहरू र कन्काई, कमला, बबई एवम् राप्ती नदीमा पानीको बहाव बढ्ने सम्भावना छ। विशेष गरी काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती र धोबीखोलासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, कास्की, लमजुङ लगायतका पहाडी जिल्ला भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी (फ्लड) को जोखिम रहेको छ। बाढी र कटानको खतरा रहेकाले नदी किनारका बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र सतर्क गराउने सूचनाप्रति सजग रहन महाशाखाले अनुरोध गरेको छ।




