सुनसरी घटनाको छानबिन गर्न विपक्षी दलहरूद्वारा न्यायिक आयोग र संवाद संयन्त्रको माग

प्रकाशित मिति:

काठमाडौं । विपक्षी दलहरूले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति तथा आयोग गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न माग गरे। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रियाबारे प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।

नेकपा एमालेका सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै चार जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

त्यसैगरी नेकपाकी सांसद बलावती शर्माले सुनसरीको देवानगन्ज घटना र त्यसपछि मधेसभर फैलिएको साम्प्रदायिक तनावको सत्यतथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए।

ताजा समाचार