कञ्चनपुरमा अवैध इलेक्ट्रिक स्कुटर नियन्त्रणमा प्रशासनको कडाइ

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले निगरानी र कडाइ बढाएको छ।

पछिल्लो एक महिनामा भारतबाट भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी चलाइएका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ। खुला सीमा नाकाको फाइदा उठाउँदै अवैध रूपमा भित्र्याइएका नयाँ स्कुटरहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिने क्रम बढेको छ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टका अनुसार नियन्त्रणमा लिइएका स्कुटरहरू कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिनेछ। अवैध आयात रोक्न प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको र भित्रिएका स्कुटरको दर्तालगायतका विषयमा प्रशासनिक छलफल भइरहेको उनले बताए। उनका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन्।

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्सार छलेर ल्याइएका र दर्ताविना चलाइएका स्कुटरले दुर्घटनाको जोखिम बढाएकाले दर्ता प्रक्रियामा ल्याउने व्यवस्था मिलाइँदै गरेको बताए। लाखौँ मूल्य पर्ने यस्ता सवारीसाधन अवैध रूपमा भित्रिन थालेपछि स्थानीय प्रशासनले निगरानी थप कडा बनाएको छ।

ताजा समाचार