सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने गठबन्धनको निर्णय

प्रकाशित मिति:

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) ले अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन्।

संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री शाह अबको आठ दिनपछि (साउन २८ गतेभित्र) स्वतः पदमुक्त हुने वा हट्नुपर्ने भएकाले अविश्वास प्रस्ताव दर्ता नगर्ने सहमति भएको हो। नेपाली कांग्रेसका शाह नेतृत्वको सरकार गठन भएको बुधबार दुई वर्ष पूरा भई अविश्वास प्रस्ताव लैजाने कानुनी बाटो खुले पनि गठबन्धनले यो कदम नचाल्ने भएको छ। नेकपाका प्रदेश सभा सदस्य मानबहादुर धामीका अनुसार कानुनले नै केही दिनमा शाहलाई पदमा बस्न नदिने भएकाले अविश्वासको प्रस्ताव अघि नबढाइएको हो।

असार अन्तिममा सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। बजेट शून्यताको अवस्था रहेकाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने प्रतिपक्षी दलको अपेक्षा थियो।

सुदूरपश्चिममा नेकपा र एमालेबिच नयाँ सरकार बनाउने सहमति भइसकेको छ। गठबन्धनमा भएको सहमति अनुसार सरकारको नेतृत्व नेकपाले गर्ने र मुख्यमन्त्रीमा खगराज भट्ट निर्विकल्प रहेको नेताहरूले बताएका छन्। यसअघि दाबी गरेका मानबहादुर धामीले भट्टलाई नै अघि बढाउने सहमति भएको पुष्टि गरेका छन् भने तत्कालीन नागरिक उन्मुक्ति पार्टीका नेकपा प्रमुख सचेतक खुशीराम डङ्गौरा थारू पनि आकाङ्क्षी देखिएका छन्।

चालु आर्थिक वर्षको बजेट पारित नभएको सन्दर्भमा अब बन्ने नयाँ सरकारले बजेट पुनर्लेखन गरेर पारित गर्ने रणनीति बनाएको छ।

ताजा समाचार