सुनसरी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

प्रकाशित मिति:

काठमाडौैं । नेपाली कांग्रेसले सुनसरीमा घटेको पछिल्लो घटनालाई लिएर सरकारले आफ्ना गम्भीर त्रुटि ढाकछोप गर्न र सर्वसाधारणमा भ्रम छर्नका लागि मात्र देखावटी समिति बनाएको आरोप लगाएको छ। पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सुनसरी घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष एवं उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने माग गरे।

पत्रकार सम्मेलनमा चालिसेले भने, “सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा घटेको घटनामा सरकारले संयमता पनि गुमायो र जवाफदेहिता पनि सरकारमा देखिएन। के यस्तै हुन्छ सरकार? जनताको प्रश्न हो। पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सरकारी सुरक्षा प्रणालीको कमजोरी र सुरक्षा अनभिज्ञता, नीतिगत अनभिज्ञताले नागरिक सुरक्षालाई झन् असुरक्षित बनाएको छ।”

सरकारका व्यक्तिहरू फेसबुकमा मात्र सीमित देखिएको टिप्पणी गर्दै उनले सरकारको उपस्थिति गोली, लाठी र दमनमा मात्रै भेटिन थालेको बताए।उनले थपे, “सरकार असंयमित भए पनि जनता संयमित भएर बस्नलाई अहिले शान्त हुँदै गएको छ। यी कुराहरू सामान्य घटना होइनन्। सरकारको नीतिहीनता र प्रशासनिक कमजोरीको नजरमा हेर्दा घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन। ढाकछोप गर्न मिल्दैन।”

आफ्ना कमजोरी लुकाउन बनाइएको समितिले स्थायी समाधान नदिने दाबी गर्दै उनले भदौको घटनामा पनि सर्वस्वीकार्य आयोगको अभाव देखिएको बताए।

ताजा समाचार