काठमाडौैं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई चयन गरेको छ। मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले उक्त नियुक्तिसहित कुल ७ वटा महत्वपूर्ण निर्णयहरू गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिए।
बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्:
राहत तथा क्षतिपूर्ति: सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत एवं उपचारको प्रबन्ध मिलाउने निर्णय भएको छ।
बोर्डको नेतृत्व: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरियो।
नियमावली स्वीकृत: तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ लाई सरकारले स्वीकृति दिएको छ।
निकाय गाभ्ने निर्णय: नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ लाई खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न अनुमति दिइएको छ।
ऐन कार्यान्वयन: पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा लागु गर्दै लैजाने निर्णय भएको छ।
विधेयक पेस गरिने: बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
आयोगमा नयाँ नियुक्ति: विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजिश श्रेष्ठलाई नियुक्त गरिएको छ।




