सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानले आफ्नो लागत अनुसारको प्रतिफल पाउने वातावरण निर्माण गर्नु नै प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। कृषि उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले स्पष्ट पारे।
सुदूरपश्चिमका अधिकांश नागरिकको जीविकोपार्जनको आधार कृषि भए पनि परम्परागत तथा निर्वाहमुखी खेतीका कारण सोचे जस्तो प्रतिफल पाउन नसकिएको मुख्यमन्त्री शाहको भनाइ थियो। उनले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणको मजबुत व्यवस्थापनबाट मात्र कृषिलाई सम्मानित र आम्दानीमुखी पेसाका रूपमा रूपान्तरण गर्न सकिने धारणा राखे।
प्रदेश सरकारको लागत साझेदारीमा बनेको यो बीउ प्रशोधन तथा भण्डारण गृहका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयबाट मेसिन उपकरणमा रु १७ लाख १५ हजार र भवन निर्माणमा रु २५ लाख अनुदान उपलब्ध गराइएको छ।
कुल रु एक करोड ४२ लाखको परियोजनामा बाँकी रकम सहकारी संस्थाले आफ्नै स्रोतबाट व्यहोरेको महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिए। यो भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेका बीउको प्रशोधन, गुणस्तर संरक्षण र सुरक्षित भण्डारणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महाप्रबन्धक शाहका अनुसार बीउको गुणस्तर कायम राख्दै बजार व्यवस्थापन र किसानको आम्दानी बढाउन यसले टेवा पुर्याउनेछ। यहाँ धान, मकै, तोरीलगायत बालीको बीउ संरक्षण गरी किसानको उत्पादन बढाउने लक्ष्य राखिएको छ। हाल लम्किचुहा, बर्दगोरिया, जानकी र भजनी क्षेत्रका १५० जना किसानसँगको समन्वयमा १४० बिघामा धानखेती गरिएको छ।




