काठमाडौं । सुनसरीको देवानगन्जमा केही समयअघि उत्पन्न साम्प्रदायिक तनाव, झडप र सुरक्षा बलको प्रयोगबाट भएको मानवीय क्षतिको सत्यतथ्य छानबिन गरिरहेको उच्चस्तरीय समितिको कार्यविधि थप गरिएको छ। गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिको म्याद १५ दिनका लागि बढाएको हो।
गत साउन ११ गते एक साताको समयसीमा दिएर यो समिति बनाइएको थियो। घटनाको प्रकृति संवेदनशील र बहुआयामिक रहेकाले तोकिएको समयभित्र अनुसन्धान र प्राविधिक विश्लेषण नसकिएकाले म्याद थप्नुपरेको मन्त्रालयले जनाएको छ। गत साउन १० गते राति डिजे बजाउँदै नाचगान गरिरहेको समूह र स्थानीय मुस्लिम बासिन्दाबीच डिजेको आवाज तथा सार्वजनिक चोकको धार्मिक झन्डा हटाउने विषयमा विवाद भएको थियो। उक्त विवादले उग्र रूप लिँदै झडपको स्थिति सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै, २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा र दुई दिनअघि काठमाडौँमा उपचाररत रविनन्द्र मेहताको पनि मृत्यु भएको छ। प्रहरीले लाठीचार्ज वा अश्रुग्यासको साटो सोझै गोली चलाएको भन्दै स्थानीय रुष्ट बनेका थिए। घटनामा घाइते भएकामध्ये ७ जनाको अझै उपचार भइरहेको छ।
यस घटनाको असर मधेसका अन्य जिल्लामा समेत पर्दा सिरहामा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको थियो। झडपमा सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी सर्वसाधारण घाइते भएका थिए। हिंसात्मक तनाव इनरुवा, हरिनगर, कोशी र भोक्राहा नरसिंङ लगायतका क्षेत्रमा फैलिँदा तोडफोड र आगजनीका घटना भएका थिए।
हाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको पहलमा अवस्था पूर्ण रूपमा सामान्य बनिसकेको छ। सहसचिव थापा नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ऊर्जा मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि छन्। ब्यालिस्टिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूलाई समेत संलग्न गराइएको छ। बिहीबार मात्रै एसएसपी प्रभु ढकाल नेतृत्वको विशेष टोली घटनास्थल पुगेर स्थानीय, पीडित परिवार र नागरिक समाजसँग छलफल गरी तथ्य संकलन गरेको छ।
उत्पन्न साम्प्रदायिक तनाव चिर्न प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुधन गुरुङको अग्रसरतामा सर्वपक्षीय बैठकहरू भएका थिए। गृहमन्त्रीले पीडित पक्षसँग राहत, क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने सहमति गरेपछि मृतकहरूको अन्त्येष्टि गरिएको थियो। यद्यपि, रविन्द्रका परिवारजन अझै सरकारसँग वार्तामै रहेका छन्। गृहमन्त्रीसँग दुई पटकको वार्तापछि परिवार शव परीक्षणका लागि तयार भएका छन् भने आज पनि थप वार्ता हुने जनाइएको छ।




