काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनः निर्माण तथा मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै उनले उक्त बजेट फिर्ता लैजान आग्रह गरेका हुन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवास मर्मत सम्भारका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी भएपछि विराटनगरको उक्त ऐतिहासिक निवास नष्ट भएको थियो। डा. कोइरालाले सरकारले उपलब्ध गराएको सो रकम लिन आफू नैतिक रूपमा असमर्थ रहेको प्रस्ट पारेका छन्।
मन्त्रालयलाई पठाएको पत्रमा डा. कोइरालाले पिताजी कृष्णप्रसाद कोइरालाले शताब्दीअघि बनाएको घर बीपी कोइरालाको नेतृत्वमा आम नेपालीको राजनीतिक, बौद्धिक र सामूहिक चेतनाको धरोहर बनेको उल्लेख गरेका छन्। बीपीले जीवनभर नेपालीको गाँस, बास र कपासका लागि सङ्घर्ष गरेको स्मरण गराउँदै उनले राज्यले त्यसतर्फ आफूलाई समर्पित गर्नु नै बीपी र कोइराला निवासप्रतिको सच्चा न्याय हुने बताएका छन्।




