काठमाडौं । सडक व्यापार गरेर गुजारा चलाउँदै आएका कालीकोट घर भई काठमाडौँको डल्लु बस्ने अनिल दमाईं गम्भीर बिरामी पर्दा आर्थिक अभावका कारण मृत्युको मुखमा पुगेका छन्। हर्निया, उच्च रक्तचाप र मधुमेहका कारण आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका उनको उपचारका लागि वीर अस्पतालका चिकित्सकहरूले आपसमा चन्दा उठाएर शल्यक्रिया गराएका हुन्।
शनिबार राति पेटमा असह्य पीडा भएपछि अनिल छिमेकीसँग ५०० रुपैयाँ सापटी लिएर श्रीमती रश्मिलासँग वीर अस्पताल पुगेका थिए। ५०० मध्ये ३०० रुपैयाँ भाडा हुनुपर्नेमा ट्याक्सी चालकले ५०० नै लिएपछि उनीहरूसँग टिकट काट्ने पैसासमेत बाँकी रहेन। २५ वर्षअघि काठमाडौँ आएका अनिल सडकमा ज्याकेट र टी–सर्ट बेचेर ६ जनाको परिवार पाल्दै आएका थिए। पछिल्लो समय काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापार हटाएपछि उनको रोजीरोटी गुमेको थियो।
उपचारका क्रममा तत्काल शल्यक्रिया नगरे ज्यान जाने अवस्था आएपछि वीर अस्पतालका डा. सुशील विश्वकर्मा र अन्य चिकित्सकहरू मिलेर रकम उठाई उनको शल्यक्रिया सम्पन्न गराए। शल्यक्रिया सफल भए पनि परिवारको आर्थिक सङ्कट भने टरेको छैन। औषधि किन्न पैसा नभएपछि श्रीमती रश्मिलाले आफ्नो मोबाइल मेडिकलमा धितो राखेर औषधि ल्याएकी छन्। घरमा ९० वर्षीया आमा र तीन छोराहरू रहेका छन् भने चार महिनादेखि ५ हजार रुपैयाँका दरले कोठाभाडा तिर्न बाँकी रहेको छ।
यसैबिच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराउने कार्यविधिलाई प्रभावकारी बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति तोकेको छ। विपन्न परिचयपत्र वा स्थानीय तहको सिफारिसका आधारमा १० प्रतिशत निःशुल्क बेड र उपचार सहायता उपलब्ध गराइने र आकस्मिक अवस्थामा स्वघोषणा फाराम भरेर उपचार गराउन सकिने मन्त्रालयले जनाएको छ।




