पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि, गृहमन्त्रीद्वारा राष्ट्रिय ध्वजा ओढाएर सम्मान

प्रकाशित मिति:

काठमाडौं । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रासहित अन्त्येष्टि गरिएको छ। काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको हो।

ब्रोड पिकमा गएको हिमपहिरोमा परी गुरुङ र निर्मल पुर्जासहित ६ जना नेपाली पर्वतारोही एवम् अन्य गरी कुल १० जनाको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका मध्ये गुरुङको शव बिहीबार नेपाल ल्याइएको थियो। अन्त्येष्टि गर्नुअघि उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर तथा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसक्रममा गृहमन्त्री गुरुङले स्वर्गीय पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राज्यका तर्फबाट सम्मान व्यक्त गरे।

गोरखाको लाप्राक गाउँका स्थायी बासिन्दा गुरुङले १० पटक सगरमाथाको सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमाल २८ पटक सफलतापूर्वक सर गरिसकेका थिए।

ताजा समाचार