काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा (स्पेसल एक्जामिनेसन) को देशअनुसारको नतिजा सार्वजनिक गरिएको छ। काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको उक्त परीक्षामा नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका १ हजार १३ जना परीक्षार्थी सहभागी भएका थिए।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले साउन २२ गते जारी गरेको सूचनाअनुसार परीक्षामा ९४७ जना (९३.४८ प्रतिशत) उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन्।
नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका ९१९ जनामध्ये १५ जना अनुत्तीर्ण भएका छन्। विदेशी शिक्षण संस्थातर्फ भारतबाट अध्ययन गरेका १७ जनामध्ये १३ जना (७६.४७ प्रतिशत) र पाकिस्तानबाट सहभागी सबै ९ जना नै उत्तीर्ण भएका छन्। यस्तै, चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना (२१.६२ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् भने २८ जना अनुत्तीर्ण भएका छन्। इजिप्टका १९ मध्ये ८ जना (४२.११ प्रतिशत), किर्गिस्तानका ५ मध्ये २ जना (४० प्रतिशत) र फिलिपिन्सका ५ मध्ये २ जना उत्तीर्ण भएका छन्। अमेरिका र बेलारुसबाट सहभागी १–१ जना भने अनुत्तीर्ण भएका छन्।
चिकित्सा शिक्षा अध्ययनपछि काउन्सिलको परीक्षा उत्तीर्ण गरेपछि मात्र चिकित्सकीय अभ्यास गर्न पाइने व्यवस्था छ। काउन्सिलले वर्षमा दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।
निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले यो नतिजा प्रशासनिक पारदर्शिताका लागि सार्वजनिक गरिएको र यसैका आधारमा नेपालको पढाइ राम्रो वा विदेशको कमजोर भनेर निष्कर्ष निकाल्न नमिल्ने स्पष्ट पारेका छन्। परीक्षाको नतिजा विस्तृत विश्लेषण, गुणस्तर मूल्याङ्कन तथा नीतिगत निर्णयका लागि चिकित्सा शिक्षा आयोगमा पठाइने उनले जानकारी दिएका छन्।




