कपिलवस्तु । शुक्रबारदेखि बेपत्ता भएका कपिलवस्तु नगरपालिकाका पूर्वप्रमुख एवं नेपाली काङ्ग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्।
६५ वर्षीय सिंह गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै घरबाट निस्किएका थिए। सोही दिन साढे ३ बजेतिर उनले आफू नजिकका व्यक्तिहरूलाई फोन गरेर जङ्गलमा बाटो बिर्सिएको जानकारी गराएका थिए। त्यसपछि आफन्त र स्थानीय खोजीमा निस्कँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गलमा उनले प्रयोग गर्ने लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।
तौलिहवा–गोरुसिङ्गे क्षेत्रको जङ्गलमा हराएका सिंहको खोजीका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर (ट्याकिङ डग) र प्राविधिक टोली झिकाइएको थियो। प्रहरी, ड्रोन क्यामेरा र ठूलो सङ्ख्यामा स्थानीयको परिचालन गरी दुई दिनदेखि भइरहेको खोजीका क्रममा आज उनी जङ्गलमा मृत भेटिएका हुन्।
खोजीका सबै उपाय अपनाउँदा सिंह मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त सूचना अधिकारी दीपक कुँवरले जानकारी दिएका छन्।




