रास्वपाद्वारा मन्त्री र नागरिकबीच संवादका लागि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम घोषणा

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले नयाँ कार्यक्रमको घोषणा गरेको छ। रास्वपाले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक कार्यक्रम सुरु गर्न लागेको हो।

रास्वपा सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार यो कार्यक्रमअन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भुइँमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनसम्म पुर्‍याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणअन्तर्गत साँझ ५:०० देखि ६:०० बजेसम्म नागरिक संवाद हुनेछ, जहाँ मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव सीधा सुन्नेछन्।

दोस्रो चरणअन्तर्गत साँझ ६:०० बजेपछि ‘नेतृत्व संवाद’ हुनेछ। उक्त बैठकमा मन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू र सांसदहरूबीच नागरिकबाट प्राप्त सुझाव र समसामयिक नीतिगत विषयमा छलफल गरी पार्टीको धारणा तय गरिनेछ।

मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनुका साथै नागरिक, सरकार, व्यवस्थापिका र पार्टी सङ्गठनबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु यस कार्यक्रमको मूल लक्ष्य रहेको रास्वपाले जनाएको छ।

ताजा समाचार