कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुर जिल्लामा बितेको चार आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० यता दुर्घटनामा परी १५४ जनाको मृत्यु हुनुका साथै एक हजार ७८४ जना घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथका अनुसार विशेषगरी पूर्व-पश्चिम राजमार्गमा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेका छन्। ठुला सवारीका तुलनामा मोटरसाइकल र स्कुटर जस्ता साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको उहाँले जानकारी दिनुभयो।

तथ्याङ्क अनुसार आव २०७९/८० मा ४३ जना, २०८०/८१ मा ३२ जना, २०८१/८२ मा ३८ जना र गत आव २०८२/८३ मा ५६४ वटा दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ। रातिको समयमा सडक जाँच कडा बनाइएपछि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको सङ्ख्यामा भने कमी आएको प्रहरीको भनाइ छ।

यसैबिच, बितेको तीन आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार ८६१ सवारीसाधनलाई कारबाही गरिएको छ। जसअन्तर्गत गत आर्थिक वर्षमा मात्रै कारबाहीबाट ५९ लाख १४ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार