कैलाली । कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया तीव्र बनाएको छ। काम प्रभावकारी रूपमा अघि बढेका स्थानीय तहबाट दशैँअघि नै लालपुर्जा वितरण सुरु गर्ने लक्ष्य आयोगले लिएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार १ लाख ३७ हजारभन्दा बढी लाभग्राहीको तथ्याङ्क प्रविष्टि भइसकेको छ। कैलालीका १३ मध्ये गोदावरी, गौरीगंगा, चुरे र घोडाघोडीमा काम द्रुत गतिमा भइरहेको छ भने टीकापुर र जोशीपुरमा काम सुस्त छ। धनगढी उपमहानगरमा पनि अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन।
विगतका आयोगले संकलन गरेका १ लाख ४० हजार ३५८ निवेदनका आधारमा प्रमाणीकरण र नापजाँच भइरहेको छ। हालसम्म करिब २० हजार बिघा जग्गाको नापजाँच भइसकेको छ। वर्षायामका कारण खेतमा पानी जम्दा नापजाँचमा केही कठिनाइ भए पनि काम रोकिएको छैन।
प्रजिअ रेग्मीले राजनीतिक पहुँचका आधारमा नभई तोकिएको मापदण्ड र प्रणाली अनुसार लालपुर्जा वितरण गरिने बताए। यसपटक भूमिहीन दलित र सुकुम्बासीलाई पहिलो प्राथमिकता दिइनेछ।




