बैतडीसहित सुदूरपश्चिमका ग्रामीण सडक अलपत्र: वर्षायाममा यात्रा जोखिमपूर्ण

प्रकाशित मिति:

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सञ्जाल विस्तार भए पनि दिगो र व्यवस्थित निर्माण नहुँदा ग्रामीण क्षेत्रका नागरिकले हरेक बर्खामा सास्ती खेप्नुपरेको छ। बर्खा सुरु भएसँगै सडक हिलाम्मे हुने, पहिरो खस्ने र सडक भासिने गर्दा आवतजावत जोखिमपूर्ण बनेको छ।

विशेष गरी कच्ची तथा स्तरोन्नतिको क्रममा रहेका सडकमा नाली र पानी निकासको व्यवस्था नहुँदा समस्या थपिएको छ। जिप चालक धर्मसिंह महरा र पुर्चौंडीका हर्कबहादुर बोहराका अनुसार ढिलासुस्ती, बजेट अभाव र फितलो अनुगमनका कारण बर्खामा सडक अवरुद्ध भई दुर्घटनाको जोखिम बढेको छ। यस्तै, ठेकेदारले काम अधुरै छाड्दा समस्या जटिल बनेको व्यवसायी सुरेश बिष्टले बताए।

सडक डिभिजन कार्यालय पाटनका प्रमुख किरण सुवेदीले अनारखोली–झुलाघाट, खोड्पे–बिथ्थड र सतबाँझ–गोकुले खण्डको १६५ किमी सडक मर्मत भइरहेको र पहिरो पन्छाउन डोजर तयारी अवस्थामा राखिएको जानकारी दिए। यस्तै, पूर्वाधार विकास कार्यालयका प्रमुख सङ्गीत रोकायाले गत आव २०८२/८३ मा ५२ किमी सडक निर्माण अघि बढाएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरजसिंहका अनुसार पछिल्लो तीन वर्षमा बैतडीमा ३४ वटा दुर्घटना हुँदा ५७ जनाको मृत्यु र १२६ जना घाइते भएका छन्। खराब सडकका कारण बिरामी र विद्यार्थीसमेत प्रभावित भएका छन्। सडकलाई सुरक्षित बनाउन निर्माण व्यवसायीलाई तोकिएको समयमै काम गराउनुपर्ने र प्रभावकारी अनुगमन हुनुपर्ने जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीको भनाइ छ।

ताजा समाचार