सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक डाक्न आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्। सभामुख भण्डारीले प्रदेशसभामा पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्था अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने बाध्यता भएपछि उनले बैठक बोलाउन पत्र पठाएका हुन्।
विश्वासको मतका लागि पत्र पठाए पनि मुख्यमन्त्री शाहले भोलि प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल शाहसँग नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ, जसमा एक सांसद प्रकाश देउवा हाल अमेरिकामा छन्। बहुमतका लागि थप १० सांसदको समर्थन नपुग्ने निश्चित भएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
राजीनामा लगायतका विषयमा निर्णय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताएकी छन्। शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। केन्द्रमा नेकपा र एमालेबीच पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने सहमति भइसकेको नेताहरूले बताएका छन्।




