काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले देशमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि रोक्न प्रहरीलाई रणनीतिक रूपमा परिचालन गरिएको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा कार्कीले हाल मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि शान्ति भङ्ग गर्न खोज्ने आपराधिक प्रवृत्तिका व्यक्तिहरू यदाकदा सल्बलाएको बताए। नागरिकबीचको सुसम्बन्ध र सद्भावलाई ध्यानमा राख्दै सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्त्वलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, भ्रामक समाचार, ‘डिप-फेक’ र हेट-स्पिचबाट हुन सक्ने जोखिमप्रति प्रहरी सचेत रहेको कार्कीले बताए। सुनसरी घटनाबारे बोल्दै उनले नागरिकको शान्तिप्रतिको चाहनाले स्थिति समयमै नियन्त्रणमा आएको र धार्मिक सद्भाव जोगाउन सुरक्षा निकायका साथै राजनीतिक, बौद्धिक र अध्यात्मिक क्षेत्रको पनि समान भूमिका हुने स्पष्ट पारे।
सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयबीच बलियो समन्वय रहेको बताउँदै उनले प्रविधिमैत्री सेवा विस्तारका लागि ‘नेपाल पुलिस एप’ सञ्चालनमा ल्याइएको जानकारी दिए। स्वीकृत दरबन्दीका २ हजार ६६० र थप ९७० अस्थायी प्रहरी टोली खटिएको भन्दै उनले जीर्ण बनेका २८५ प्रहरी भवन निर्माणका लागि स्थानीय तहहरूसँग सहकार्य भइरहेको बताए।
सडकमा खटिने प्रहरीमाथि हुने असन्तुष्टि र दुर्व्यवहारलाई नागरिकको प्रस्फुटनका रूपमा लिँदै उनले प्रहरी कर्मचारीलाई संयमित भएर काम गर्न निर्देशन दिइएको बताए। वैदेशिक रोजगारी र अन्य अवसरका कारण राजीनामा दिने प्रवृत्ति बढेकाले सेवासुविधा र रासन वृद्धिका लागि पहल भइरहेको उनले जानकारी दिए।




