धनगढी । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीलाई लक्षित गर्दै धनगढीमा टाटा मोटर्सको BS6 बस च्यासिस सार्वजनिक गरेको छ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथि र सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथि रहेका थिए। उनीहरूले BS6 प्रविधिको आगमनले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई अझ आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा ८ मिटरदेखि १२ मिटरसम्मका विभिन्न क्षमताका टाटा BS6 बस च्यासिस प्रदर्शन गरिएका थिए। शहरी तथा छोटो दूरीका सेवाका लागि उपयुक्त ‘डे बस’ र लामो दूरीका यात्राका लागि डिजाइन गरिएका ‘नाइट बस’ मोडलहरू व्यवसायीहरूलाई प्रत्यक्ष अवलोकन गराइएको थियो।
सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले BS6 प्रविधिबारे प्रस्तुति दिँदै नयाँ च्यासिसले कम इन्धन खपत, न्यून प्रदूषण, उच्च कार्यक्षमता र उत्कृष्ट माइलेज प्रदान गर्ने जानकारी दिए। उनका अनुसार यी बसमा SCR (Selective Catalytic Reduction) र ATS (After Treatment System) जस्ता अत्याधुनिक उत्सर्जन नियन्त्रण प्रणाली जडान गरिएको छ। साथै, शक्तिशाली इन्जिन, उच्च टर्क, कम आवाज र कम्पन, मजबुत च्यासिस, उन्नत ब्रेकिङ प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सहज डायग्नोस्टिक प्रणाली जस्ता सुविधाहरू यसमा समावेश छन्।

पोखरेलले चालकहरूका लागि AdBlue को सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा नियमित मर्मतसम्भार सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए। कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागका दीपेन्द्र चन्दको समेत उपस्थिति रहेको थियो।




