काठमाडौं । सरकारले देशैभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो।
यो मार्गदर्शन लागू भएसँगै विभिन्न सरकारी कार्यालयबाट सेवा प्राप्त गर्न पेस गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योल हटेर देशैभर एउटै र निश्चित ढाँचा कायम हुने भएको छ। यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउनुका साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ।
यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक–फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सहजै लिन सकिने बाटो खुलेको छ, जसले ‘डिजिटल नेपाल’को परिकल्पनालाई थप बल पुर्याउने विश्वास लिइएको छ।
यसका साथै, सरकारी आवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्दै कार्यालय परिसरमा रकम असुल्ने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरणलाई निरुत्साहित गर्न पनि यो मार्गदर्शनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।




