काठमाडौं । जनआस्था साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले नख्खुस्थित निवासबाट हिजो साँझ पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित बनेको छ।
काठमाडौँ प्रहरी परिसरमा रहेका श्रेष्ठको रिहाइ माग गर्दै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत सञ्चारकर्मीहरूले नाराबाजी गरेका छन्। समाचारमा आपत्ति भए स्थापित कानुनी प्रक्रिया अपनाउन सकिने भन्दै सम्पादकलाई नै पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनीहरूको ठहर छ।
चार दशकदेखि खोजी पत्रकारितामा सक्रिय, विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष एवम् प्रेस काउन्सिलका पूर्वअध्यक्ष श्रेष्ठको पक्राउले पत्रकारको सुरक्षामा प्रश्न उठाएको भन्दै महासङ्घले निर्भीक रूपमा समाचार लेख्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।




