कञ्चनपुरमा अनुमतिबिनै बिरामीको उपचार र औषधी बिक्री गर्ने महिला पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा इजाजतपत्र नलिई बिरामीको उपचार गर्ने तथा औषधी बिक्री वितरण गर्दै आएकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोल निवासी ४० वर्षीया गीता सेठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लामो समयदेखि अनुमतिबिना उपचार तथा औषधीको कारोबार भइरहेको सूचनाका आधारमा उनलाई औषधीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय कञ्चनपुरको संयुक्त टोलीले मङ्गलवार दिउँसो सेठीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ९९ हजार ४८५ रूपैयाँ मूल्य बराबरका औषधी तथा उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरू बरामद गरिएको प्रनाउ रावतले बताए।

पक्राउ परेकी सेठीमाथि कानुन अनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार