सुदूरपश्चिम । अल्पमतमा परेको एक महिना पुग्नै लाग्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। बिहीबार ५ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।
सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एमालेले असार ३१ गते समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो। संवैधानिक प्रावधान अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवधि बिहीबार नै सकिँदै छ। विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बुधबार बसेको थियो, जुन बिहीबार दिउँसो ३ बजे पुनः बस्दै छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेससँग १८ जना मात्रै प्रदेश सभा सदस्य छन्। अर्कोतर्फ नेकपाका २१ (एक निलम्बित) र एमालेका ११ गरी ३२ सांसद रहेकाले नयाँ सरकार बनाउन उनीहरूसँग स्पष्ट बहुमत छ।
नेकपा प्रदेश सभा सदस्य मानबहादुर धामीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना पनि रहेको बताएका छन्। दुवै दलबिच भएको सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपाका खगराज भट्टले गर्ने तय भइसकेको छ।




