एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोलीको बिदाइ

प्रकाशित मिति:

काठमाडौं । आउँदो अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो। नेपाली टोली केही दिन भारतमा प्रशिक्षण गरेपछि मलेसियातर्फ प्रस्थान गर्नेछ।

प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

कुल १० टोली सहभागी हुने प्रतियोगितामा टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन् भने अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।

नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। त्यस्तै, सेप्टेम्बर ३ मा बहराइन, सेप्टेम्बर ५ मा मलेसिया र सेप्टेम्बर ७ मा हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपका लागि छनोट हुनेछन्।

ताजा समाचार