भारतको ८०औँ स्वतन्त्रता दिवस: कञ्चनपुरमा भूपू सैनिकहरूद्वारा भव्यताका साथ मनाइयो

प्रकाशित मिति:

भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा जिल्ला सैनिक बोर्ड, कञ्चनपुरद्वारा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। महेन्द्रनगरस्थित सैनिक बोर्डको परिसरमा आयोजित समारोहमा भारतीय सेनाबाट सेवा निवृत्त भएका नेपाली भूपू सैनिकहरूको सहभागितामा स्वतन्त्रता दिवस मनाइएको हो।
महात्मा गान्धीको नेतृत्वमा भएको अहिंसात्मक आन्दोलन र अनगिन्ती स्वतन्त्रता सेनानीहरूको बलिदानपछि १५ अगस्ट १९४७ मा भारत ब्रिटिस उपनिवेशवादबाट मुक्त भएको थियो। ‘भारतीय स्वतन्त्रता ऐन १९४७’ लागू भई सार्वभौमसत्ता भारतीय संविधान सभामा हस्तान्तरण भएको सोही ऐतिहासिक दिनको सम्झनामा कञ्चनपुरमा बसोबास गर्दै आएका भारतीय सेनाका नेपाली पेन्सनर (भूपू सैनिक) हरू खुसी साटासाट गर्दै कार्यक्रममा सहभागी भएका थिए।
समारोहमा नेपाल र भारत दुवै देशका झण्डा फहराइनुका साथै राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यस क्रममा भारतको स्वतन्त्रता सङ्घर्ष तथा विभिन्न युद्धका क्रममा प्राणको आहुति दिने अमर शहीदहरूप्रति मौनधारण गरी उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरियो।
समारोहका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नेत्रमणि गिरीले समारोहलाई सम्बोधन गर्दै स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गरे। सो क्रममा उनले भारतीय सेनामा सेवारत रही नेपाली भूपू सैनिकहरूले देखाएको अदम्य साहस, हिम्मत र अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरे। साथै, भूपू सैनिकहरूले पाउँदै आएको सेवा-सुविधाको चर्चा गर्दै उनले उनीहरूको समर्पण तथा योगदानको प्रशंसा गरे र उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा आयोजक बोर्डलाई धन्यवाद ज्ञापन गरे।
त्यस्तै, जिल्ला सैनिक बोर्डका अध्यक्ष महावीर बमले सम्पूर्ण भूपू सैनिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। सो अवसरमा उनले भारतीय सेनामा नेपालीहरूले पुर्‍याएको अतुलनीय योगदान र बलिदानको स्मरण गर्दै भूपू सैनिकहरूले पाउँदै आएको सेवा, सुविधा र सम्मानको चर्चा गरे। अध्यक्ष बमले दुई देशबिचको परापूर्वकालदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन भूपू सैनिकहरूको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पारे।

ताजा समाचार