धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरे तापनि सरकारले अझै पूर्णता पाउन सकेको छैन। नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक सहमति जुट्न नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको सिफारिसमा सामाजिक विकासमन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्रीमा चक्रबहादुर मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमनबहादुर भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बम नियुक्त भई पदभार ग्रहण गरिसकेका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका अस्पतालहरूमा डायलासिस सेवा विस्तार गर्ने निर्णयसमेत गरेको छ।
भौतिक पूर्वाधार, उद्योग तथा पर्यटन र आन्तरिक मामिला मन्त्रालयमा मन्त्री चयन गर्न बाँकी छ। साविक माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीबाट आएका सांसदहरूको व्यवस्थापन मुख्यमन्त्री भट्टका लागि पेचिलो बनेको छ। नेकपाका प्रदेश इन्चार्ज भानुभक्त जोशीले केन्द्रबाट नाम टुङ्गो लागेपछि दुई-तीन दिनभित्रै सरकार विस्तार हुने दाबी गरे।
विगत एक महिनादेखि प्रदेश आंशिक बजेट शून्यताको अवस्थाबाट गुजरिरहेका बेला नयाँ सरकार विस्तारमा ढिलाइ हुँदा बजेट अध्यादेश वा नयाँ बजेट ल्याउने प्रक्रिया थप प्रभावित बनेको छ।




