सेती प्रादेशिक अस्पतालको हरेक १५ दिनमा अनुगमन गर्ने मुख्यमन्त्री भट्टको घोषणा

प्रकाशित मिति:

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधारका लागि हरेक १५ दिनमा अनुगमन गर्ने भएका छन्। आइतबार अस्पतालको निरीक्षणका क्रममा उनले उक्त कुरा बताएका हुन्।

शुक्रबार मुख्यमन्त्री बनेका भट्ट सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापासहित अस्पताल पुगेका थिए। अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले आकस्मिक कक्षसँगै रहेको शौचालयको अवलोकन गर्दै सरसफाइलगायतका कुरा चुस्तदुरुस्त राख्न अस्पताल प्रशासनलाई निर्देशन दिए।

निरीक्षणका क्रममा मुख्यमन्त्री भट्ट र सामाजिक विकास मन्त्री थापाले बिरामीहरूसँग कुराकानी गरी उनीहरूका समस्या सुनेका थिए। बिरामीहरूसँगको संवादसँगै मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्ने सङ्केत गरेका छन्।

प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावले सेवा प्रभावित हुँदै आएको छ। ५० शय्याको स्वीकृत दरबन्दी रहेको यस अस्पतालमा व्यवस्थापन समिति र विभिन्न कार्यक्रममार्फत चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा चलाइएको छ। अस्पतालमा आउने बिरामीहरूले प्रभावकारी उपचार सेवा पाउन समस्या भइरहेको बताउँदै आएका छन्।

ताजा समाचार