काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या सात सय ३५ पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट कुल ७३५ जनाको शव फेला परेको छ।
प्रहरीको तथ्याङ्क अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
विपत्मा परेका दुई हजार ७१५ जनाको उद्धार गरिएको छ भने घटनामा हालसम्म २५ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेका छन्। यसैगरी काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १६० पुगेको प्रहरीले जनाएको छ।





