काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १४ गते दिउँसो १४:०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको जानकारी दिएको छ।
प्रहरीको तथ्याङ्क अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये चितवनमा २६४, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
विपत् व्यवस्थापन तथा उद्धारका लागि ७,८९४ जना प्रहरी परिचालन गरिएको छ। घटनामा हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। यस्तै घाइते तथा उद्धार गरिएका नागरिकको सङ्ख्या २,७१५ पुगेको छ, जसमा रसुवाका ६९२, नुवाकोटका २,०२० र धादिङका ३ जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १६० रहेको प्रहरीले जनाएको छ।





