भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा साढे ५२ अर्ब बढीको क्षति : प्रारम्भिक प्रतिवेदन

प्रकाशित मिति:

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिराका कारण नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार रुपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक सहदेव धमला नेतृत्वको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ समक्ष सोमबार सो प्रारम्भिक अध्ययन प्रतिवेदन पेस गरेको हो। विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका पर्यटकीय पूर्वाधार, होटल, पदमार्ग तथा यातायात सञ्जालमा बाढीले व्यापक क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा १९ अर्ब ५६ करोड रुपियाँ भएको आकलन गरिएको छ। त्यस्तै, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड, मानवबल तथा पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड, सम्पदा तथा पूर्वाधारमा एक अर्ब ६६ करोड र सवारीसाधनमा एक अर्ब ५१ करोड रुपियाँ बराबरको नोक्सानी भएको छ।

प्रतिवेदन अनुसार बाढी–पहिरोमा परी हालसम्म स्वदेशी तथा विदेशी गरी एक हजार ११७ जना प्रभावित भएका छन्। जसमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने ६०६ विदेशी र १८८ नेपाली गरी कुल ७९४ जना अझै सम्पर्कविहीन छन्।

समितिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै प्रभावित व्यवसायीलाई कर छुट र सहुलियतपूर्ण पुनरुत्थान प्याकेज उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ। मन्त्री पौडेलले आगामी पर्यटकीय मौसमअघि नै पदमार्ग, यातायात तथा सञ्चार सम्पर्क पुनर्स्थापित गर्न सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभयो।

ताजा समाचार