महाकाली यातायातको नेतृत्वमा भट्ट, नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण

प्रकाशित मिति:

उपेश सिंह धामी

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि. कञ्चनपुरको नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।

सोमबार सम्पन्न निर्वाचनबाट कम्पनीको अध्यक्षमा नवीन भट्ट निर्वाचित हुनुभएको हो। अध्यक्ष पदका लागि भएको निर्वाचनमा भट्टले १ सय ७५ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी विष्णु कडेललाई ५ मतले पछि पार्नुभएको थियो। कडेलले १ सय ७० मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै, सञ्चालक समिति सदस्यमा धिरेन्द्र चन्द, खगेन्द्र भट्ट, पुष्कर राज जोशी, रमेश थापा, पदमसिंह भाट, देवराज जोशी, आनन्दराज जोशी, भवानीसिंह रावल, दीपक केसी र बलराम पन्त निर्वाचित हुनुभएको छ।

निर्वाचन सम्पन्न भएपछि निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समिति सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो। प्रमाणपत्र वितरण कार्यक्रममा कम्पनीसँग आबद्ध व्यवसायी, यातायात क्षेत्रका प्रतिनिधि तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सञ्चालक डम्बर पन्तले निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निर्वाचन संस्थाको आन्तरिक प्रक्रिया भएकाले यसलाई हार–जितका रूपमा नभई संस्थाको हितमा भएको प्रक्रियाका रूपमा लिनुपर्ने बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष नवीन भट्टले यातायात व्यवसायीका समस्या समाधान, कम्पनीको संस्थागत विकास तथा यातायात सेवालाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यातायात व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय गर्दै अघि बढ्ने बताउनुभयो।

नयाँ सञ्चालक समितिले कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउने, यातायात व्यवसायीको हित संरक्षण गर्ने तथा संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्व चयन भएसँगै कम्पनीका शेयर सदस्य तथा यातायात व्यवसायीहरुले व्यवसायिक सुरक्षा, सेवा व्यवस्थापन, संस्थागत पारदर्शिता तथा सम्बन्धित निकायसँगको समन्वयलाई प्रभावकारी बनाउन नयाँ समितिले पहल गर्ने अपेक्षा गरेका छन्।

ताजा समाचार