दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका आठ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको छ।
शैल्यशिखर नगरपालिका–९ गाँजरीस्थित केशव विकले सञ्चालन गरेको सुदर्शन खुद्रा पसल रहेको घरको कोठामा शनिबार जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीले जुवाखालबाट ७१ हजार सात सय ७५ रुपियाँ नगद र तीन गड्डी तास बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिहरूले नाम गोप्य राख्न अनुरोध गरेकाले विवरण सार्वजनिक नगरिएको र उनीहरूमध्ये वडाध्यक्ष भए–नभएको यकिन हुन नसकेको प्रहरीले स्पष्ट पारेको छ।






