महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका एक लाख ५६ हजार नौ सय ४० रुपियाँ बराबरका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न प्रहरी इकाइहरूले आइतबार जिल्लाका छुट्टाछुट्टै स्थानबाट ती सामान बरामद गरेका हुन्। प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी टेकबहादुर रावतका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले मैदा, दाल, तेल र बोइलर कुखुरा गरी ६४ हजार चार सय ४० रुपियाँ बराबरको सामान बरामद गरेको छ।
यस्तै, अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले ८० हजार रुपियाँ बराबरका कस्मेटिक सामान नियन्त्रणमा लिएको छ। यसैगरी, इलाका प्रहरी कार्यालय गड्डाचौकीले अवैध रूपमा भित्र्याइएको १२ हजार पाँच सय रुपियाँ मूल्य बराबरको २५ किलो माछा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।






