धनगढी । तीन दशक लामो प्रतीक्षापछि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका कार्यक्रमहरू सञ्चालन हुने निश्चित भएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएसतर्फ ५० सिटसहित चारवटा शैक्षिक कार्यक्रममा कुल ९० सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै डाक्टर उत्पादन गर्ने बाटो खुलेको हो।
आयोगले एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजीमा १० र बी अप्टोमेट्रीमा १० सिट तोकेको छ। विश्वविद्यालयले आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने तयारी गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डर अनुसार कक्षा सञ्चालन गरिनेछ। यसै वर्षदेखि ३०० शय्याको अस्पताल पूर्ण रूपमा चलाउने र ५०० शय्याको सञ्चालन प्रक्रिया अघि बढाउने योजना रहेको उनले जानकारी दिए। हालसम्म ६२२ शय्या जडान भइसकेको र अस्पतालमा सिटीस्क्यान, एमआरआई तथा क्याथ ल्याबजस्ता सेवा विस्तारको तयारी भइरहेको छ।
यसैबीच, गेटामा एमबीबीएस सञ्चालन गर्ने निर्णय खारेज हुनुपर्ने मागसहित प्रा. डा. गोविन्द केसी सत्याग्रहमा बसेका छन्। आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नभएको भन्दै उनले गेटामा नभई त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइनुपर्ने अडान राखेका छन्।
डा. केसीको विरोधपछि सुदूरपश्चिममा असन्तुष्टि बढेको छ। गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले दशकौँको संघर्षपछि प्राप्त उपलब्धिमा डा. केसीले पटकपटक अवरोध पुर्याउन खोजेको आरोप लगाए। विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीले संस्थामाथि गम्भीर प्रहार भएको भन्दै सुदूरपश्चिमवासी र आम नेपालीसँग मार्गदर्शन मागेका छन्। अर्कातिर नागरिक अगुवा प्रमोद पाठकले गुणस्तर र मापदण्डबारे खबरदारी गर्नुपर्ने भए पनि विश्वविद्यालय नै चल्न नदिने दृष्टिकोण उचित नहुने धारणा राखेका छन्।
विसं २०५६ मा काञ्चिकामकोटी पीठका जगद्गुरु जयन्द्र सरस्वती शङ्कराचार्यले शिलान्यास गरेको यो परियोजना लामो समय अलपत्र परेपछि २०६६ सालमा सरकारले पुनः प्रक्रिया अघि बढाएको थियो। अर्बौंका भौतिक संरचना तयार भई २०८० कात्तिकदेखि ५० शय्याको अस्पताल सञ्चालन हुँदै हाल विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु गर्ने चरणमा पुगेको हो।







