काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२:३० बजे तथा चितवन र पोखराबीचको खेल अपराह्न ५:०० बजे सुरु हुने कार्यतालिका छ। जारी प्रतियोगितामा कर्णालीले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ भने सुदूरपश्चिमले चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको छ। कर्णाली तेस्रो जितको खोजीमा रहँदा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा छ।

यसैगरी, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स जारी सिजनमा खेलेका तीनवटै खेलमा पराजित हुँदै अङ्कविहीन छ। पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रिँदा चार खेलबाट दुई जित, एक हार र एक खेल रद्द भई पाँच अङ्क जोडेको चितवन राइनोज भने पोखराविरुद्ध जित हात पार्दै प्लेअफको यात्रा बलियो बनाउने दाउमा छ।







