काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आइतबारको खेलमा कर्णाली याक्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा दुवै टोलीले आफ्नो अन्तिम लिग खेल खेलिरहेका छन्।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोज र प्लेअफ दौडबाट बाहिरिएको कर्णाली याक्सबीचको यो प्रतिस्पर्धा लिग चरणको अन्तिम दिनको पहिलो खेल हो। चितवनले आजको खेलका लागि टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, रञ्जितकुमार, मौसम ढकाल, रवि बोपारा र डेविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान माउज्ली र उसामा मिर टोलीमा समेटिएका छन्।

यस्तै, कर्णालीले एक खेलाडी परिवर्तन गर्दै दीपेन्द्र रावतको स्थानमा सचिन शर्मालाई टोलीमा भित्र्याएको छ। आजै दिउँसो ४:३० बजे हुने लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।






