काठमाडौं । विश्व प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बजारको मियो मानिने अमेरिकी कम्पनी एनभिडिया र यसका सहसंस्थापक जेन्सेन हुआङ यतिबेला विश्व सञ्चारमाध्यमको मुख्य चर्चामा छन्। ३३ वर्ष लामो नेतृत्व सम्हालेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुआङले गत कात्तिक २५ गते (नोभेम्बर ११) पदबाट राजीनामा दिएपछि एनभिडियाको विगत, वर्तमान र आगामी यात्राबारे विश्वव्यापी चासो बढेको हो।

गेमिङ कार्डदेखि चार ट्रिलियन डलरको यात्रा
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान्ता क्लारामा मुख्यालय रहेको एनभिडियाको स्थापना सन् १९९३ अप्रिलमा जेन्सेन हुआङ, क्रिस मालाचोस्की र कर्टिस प्रिमले गरेका हुन्। सुरुवाती चरणमा कम्प्युटर गेमिङका लागि ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्माणमा केन्द्रित यो कम्पनीले सन् १९९९ मा पहिलो आईपीओ जारी गरेको थियो। सोही वर्ष सार्वजनिक ‘जिफोर्स २५६’ लाई उपभोक्ताका लागि पहिलो जीपीयू मानिन्छ।

सन् २००६ मा सार्वजनिक ‘क्युडा’ (CUDA) सफ्टवेयर प्लेटफर्मले जीपीयूलाई गेमिङमा मात्र सीमित नराखी वैज्ञानिक अनुसन्धान र जटिल गणितीय गणनामा प्रयोग गर्ने ढोका खोल्यो। सन् २०२२ मा ओपनएआईले सार्वजनिक गरेको च्याटजीपीटीमा एनभिडियाकै हजारौँ जीपीयू प्रयोग भएपछि कम्पनी एआई पूर्वाधारको निर्विकल्प शक्ति बन्यो। माइक्रोसफ्ट, गुगल, अमेजन र मेटाजस्ता ठूला प्रविधि कम्पनीको उच्च मागका कारण सन् २०२५ जुलाई १० मा एनभिडिया चार ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण नाघ्ने विश्वकै पहिलो सार्वजनिक कम्पनी बनेको थियो।
प्रमुख उत्पादन तथा विस्तार
एनभिडियाले गेमिङ र व्यावसायिक वर्कस्टेसनका लागि ‘जिफोर्स जीटीएक्स र आरटीएक्स’, एआई तथा डेटा सेन्टरका लागि ‘ए, एच, ब्ल्याकवेल र रुबिन’ शृङ्खलाका उच्च क्षमताका जीपीयू डिजाइन गर्दै आएको छ। यसबाहेक स्वचालित सवारीसाधनका लागि ‘ड्राइभ’, मोबाइल तथा विद्युतीय उपकरणका लागि ‘टेग्रा’ र नेटवर्किङका लागि ‘मेलानक्स’ प्रविधि विकास गरेको छ। चिप डिजाइन आफैँ गरे पनि उत्पादनका लागि ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) मा निर्भर छ। कम्पनीले सन् २०२६ सेप्टेम्बरमा एआई प्लेटफर्म ‘हगिङ फेस’ लाई करिब १२ अर्ब ९३ करोड डलरमा खरिद गर्ने सम्झौतासमेत गरिसकेको छ।
नेतृत्व परिवर्तन र भावी चुनौती
एआई चिप बजारमा एकछत्र प्रभाव जमाउँदै गर्दा एनभिडिया अमेरिका, युरोपेली संघ र चीनका नियामक निकायको निगरानीमा पर्दै आएको छ। यहीबीच ३३ वर्षदेखि कम्पनी हाँकेका हुआङले सञ्चालक समिति सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ र सन् १९९३ देखि बोर्डमा रहेका हार्भे सी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ। चिनियाँ गुप्तचरसँग सम्बन्ध रहेको आशंका गरिएका एक व्यक्ति तथा कम्पनीकै एक कर्मचारीसँगको सम्बन्धबारे सञ्चालक समितिले अनुसन्धान थालेपछि हुआङ बाहिरिएको विवरण सार्वजनिक भए पनि कम्पनीले राजीनामाको आधिकारिक कारण खुलाएको छैन।






