काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४:३० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि फाइनल पुग्ने अन्तिम अवसर हो।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो मौका पाएको हो। सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर पूरा गरेको थियो। आजसुदूरपश्चिम अघिल्लो हारका गल्ती सुधार्दै लयमा फर्किने लक्ष्यमा छ।
यता, बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको चितवन राइनोज उच्च आत्मविश्वासका साथ लगातार दोस्रो जित निकाल्न चाहन्छ। आज हार्ने टोलीको उपाधि यात्रा यहीँ समाप्त हुनेछ भने विजेता टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि खेल्नेछ।






