राष्ट्रिय स्वास्थ्य बीमा सुधारका सात प्राथमिकता सार्वजनिक

प्रकाशित मिति:
spot_img

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन सातवटा सुधारका प्राथमिकता सार्वजनिक गरेको छ । बीमाको पहुँच विस्तार, आर्थिक क्षमताअनुसार योगदान प्रणाली, उपचारसम्बन्धी कार्यक्रमको एकीकरण र डिजिटल प्रणालीको प्रयोगलाई मन्त्रालयले मुख्य आधार बनाएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको प्राथमिकताअनुसार सरकारी कर्मचारी, निजी तथा अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गराइनेछ । नागरिकको आय र आर्थिक क्षमताका आधारमा योगदान निर्धारण गरिने तथा अति विपन्न र विशेष समूहका नागरिकको बीमा शुल्क राज्यले व्यहोर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायबाट सञ्चालित उपचार सुविधासम्बन्धी कार्यक्रमलाई एकीकृत गरी दोहोरोपन हटाउने योजनासमेत अघि सारिएको छ । यसका साथै आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, बिरामी प्रेषण (रेफरल) तथा दाबी भुक्तानी प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लगिनेछ । अनावश्यक परीक्षण र अनुचित बीमा दाबीजस्ता दुरुपयोग नियन्त्रण गर्न प्रभावकारी कानुनी तथा निगरानी प्रणाली विकास गरिने प्राथमिकतामा उल्लेख छ ।

स्थानीय तहका आधारभूत स्वास्थ्य संस्थादेखि प्रदेश र सङ्घीय अस्पतालसम्मलाई एउटै बीमा प्रणालीमा जोड्दै तीनै तहका सरकारको वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट पारिने मन्त्रालयले जनाएको छ ।

हाल पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपियाँ योगदान गरेबापत एक लाख रुपियाँसम्मको उपचार सुविधा पाउँदै आएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म देशभरका ५०२ स्वास्थ्य संस्था आबद्ध रहेको यस कार्यक्रममा एक करोड ६८ लाखभन्दा बढी नागरिक आबद्ध भए पनि ६२ लाखभन्दा बढीको मात्र बीमा सक्रिय छ । सक्षम नागरिकको योगदान र असमर्थ नागरिकको उपचारको जिम्मेवारी राज्यले लिएर आर्थिक अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने अवस्था निर्माण गरिने मन्त्रालयको प्रतिबद्धता छ ।

spot_img

ताजा समाचार