मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याललाई आज अदालतमा उपस्थित गराइँदै

प्रकाशित मिति:
spot_img

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरी अर्बौँ रुपियाँ गैरकानुनी रूपमा विदेश पठाइएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अर्याललाई बिहीबार विराटनगरको जोगबनी नाका क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तत्कालीन सचिव रहँदा श्रमिकबाट उठाइएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार अर्याल यस प्रकरणमा पक्राउ पर्ने ११औँ व्यक्ति हुन् । यसअघि पक्राउ परेका १० जनालाई जिल्ला अदालत काठमाडौँले बिहीबार थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यस प्रकरणमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पक्राउ परिसकेका छन् । यस्तै, व्यवसायीतर्फ कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सन् २०१९ देखि २०२४ सम्म बायोमेडिकल सेवा (बिएमएस) का नाममा प्रतिव्यक्ति १०० रिङ्गेट अतिरिक्त शुल्क उठाई १७ पटकमा एक अर्ब ६९ करोड दुई लाख रुपियाँभन्दा बढी (६३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड) गैरकानुनी रूपमा मलेसिया पठाइएको खुलेको छ । उक्त रकम सङ्कलनमा मलेसियाली कम्पनी बेस्टिनेटको स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । यस प्रकरणमा ठगी तथा सङ्गठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा समाचार