काठमाडौं । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबिच सहमति जुटेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको मङ्सिर ६ र ७ गते सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ (बी३४५) हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो ।
द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर ८ मा उक्त हवाई मार्गलाई दुईतर्फी बनाउने र यसको कार्यढाँचा (मोडालिटी) तथा अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई अन्तिम रूप दिन प्राविधिक परामर्श गरिने उल्लेख छ । भारतले भैरहवा रुटसँगै बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो भने नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप प्रवेशमार्ग माग गर्दै आएको छ ।
सहमति जुटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले संयुक्त प्राविधिक टोलीमार्फत आवश्यक गृहकार्य अघि बढाएको छ । दुवै देशका प्राविधिक टोलीले प्रवेशबिन्दु, उडान उचाइ र हवाई ट्राफिक व्यवस्थापनको टुङ्गो लगाएपछि दुवै देशको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी) मा सूचना प्रकाशित भएसँगै नयाँ मार्ग औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले थप हवाई मार्ग प्राप्त हुनु नेपालको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । यसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा गति दिनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापसमेत घटाउने अपेक्षा गरिएको छ ।
क्यानका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनका अनुसार भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरासम्म घुम्नुपर्ने बाध्यता हट्नेछ । यसबाट उडान अवधि, इन्धन खपत र वायुसेवा कम्पनीको सञ्चालन खर्च घट्ने तथा यात्रुले आकाशमै लामो समय ‘होल्ड’ हुनुपर्ने समस्या कम हुने विश्वास लिइएको छ ।






