सुदूरपश्चिमको समृद्धिको नयाँ ढोका खोल्दै दार्चुलाको महाकाली मोटरेबल पुल

प्रकाशित मिति:
spot_img

दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्मित नेपाल–भारत जोड्ने पक्की मोटरेबल पुल सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशको व्यापार, पर्यटन र जनजीवनमा नयाँ सम्भावना खुलेको छ । कैलाली र कञ्चनपुरपछि भारतसँग सीधा सडकमार्गले जोडिने दार्चुला सुदूरपश्चिमको पहिलो पहाडी जिल्ला बनेको हो ।

महाकाली नगरपालिका–८, असीगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको मल्लो छारछुम जोड्ने ११० मिटर लामो उक्त पुलको गत सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेका थिए । ३२ करोड ९८ लाख भारतीय रुपियाँ लागतमा निर्मित पुल सञ्चालनमा आएपछि दशकौँदेखि झोलुङ्गे पुलको सहारामा आवतजावत गर्न बाध्य सीमावर्ती बासिन्दाको दैनिकी सहज बनेको छ ।

त्रिदेशीय सीमानाकासँग जोडिएको यस पुलले सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी, अछाम र डडेलधुराका स्थानीय उत्पादन, जडीबुटी र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीय प्रकाशचन्द्र मिश्रले बताए । उच्च हिमाली तथा पहाडी भेगमा पाइने यार्चागुम्बा, पाँचऔँले, कुट्की, जटामसी, चिराइतो, टिमुर र रिठाजस्ता बहुमूल्य जडीबुटीका साथै सिमी, आलु, स्याउ, ओखर, अदुवा, बेसार, राजमा र महले अब सहजै सीमापारका ठुला बजार पाउने अपेक्षा गरिएको छ ।

यस अवसरलाई दीर्घकालीन रूपमा सदुपयोग गर्न स्थानीयस्तरमै जडीबुटी प्रशोधन केन्द्र, चिस्यान केन्द्र र सङ्कलन सञ्जाल विस्तार गर्नुपर्नेमा मिश्रले जोड दिए । पुल सञ्चालनसँगै सीमानाकामा चेकजाँचका नाममा सर्वसाधारणले भोग्दै आएको अनावश्यक झन्झटसमेत कम हुने स्थानीयको विश्वास छ ।

पर्यटनका दृष्टिले कैलास मानसरोवर यात्राको सबैभन्दा छोटो मार्ग मानिने दार्चुलाको तिङ्कर नाका, अपिहिमाल, अपिनाम्पा संरक्षण क्षेत्र, खप्तड र रामारोशनजस्ता साहसिक गन्तव्य तथा मालिकार्जुन, बडीमालिका, शैलेश्वरी, त्रिपुरासुन्दरी र उग्रतारालगायतका शक्तिपीठ दर्शनका लागि भारतीय पर्यटक भित्र्याउन यो पुल मुख्य सेतु बन्ने देखिएको छ ।

spot_img

ताजा समाचार