वैद्य-प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की राज्यमन्त्री कर्ण र देवकोटालाई प्रदान गरिने

४ साउन, सप्तरी । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णसहित दुई जनालाई प्रदान गरिने भएको छ । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष, सप्तरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट राज्यमन्त्री कर्ण र राजविराजकी अनिता देवकोटालाई सम्मान गरिने भएको हो ।

पुरस्कार कोषको सोमबार राजविराजमा बसेको बैठकले कर्ण र देवकोटालाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको कोषका सदस्य मनोहर पोखरेलले जानकारी दिए ।

राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा योगदान पुर्‍याएको भन्दै कर्णलाई र दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि योगदान पुर्‍याएको भन्दै देवकोटालाई पुरस्कृत गर्न लागिएको उनले बताए ।

खडक नगरपालिका–८ की बासिन्दा कर्णलाई २०७७ सालको र राजविराज नगरपालिका–७ निवासी देवकोटालाई २०७८ सालको पुरस्कार दिइने कोषले जनाएको छ । ५ हजार १ सय नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिनेछ ।

यो पुरस्कार इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २९औं स्मृति दिवसका दिन आगामी साउन १६ गते वितरण गरिनेछ ।

पुरस्कारको रकमबाट स्थापना भएको पुरस्कार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१ औं प्रकाश मानव अधिकार पुरस्कार सप्तरीका वैद्यनाथ झालाई प्रदान गरिएको थियो । प्रेस स्वतन्त्रता सेनानी समेत रहेका राजविराज नगरपालिका ७ निवासी झाले पुरस्कार वापत पाएको नगद ५१ हजार रुपैयाँबाट कोषको स्थापना गरे ।

झाले उक्त रकममा आफ्नी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउँदै आएको सामाजिक सुरक्षावापतको ५० हजार गत वर्ष नै जम्मा गरी कोषको रकम १ लाख १ हजार पुर्‍याए । कोषको राशीमा वृद्धि भएपछि पुरस्कारवापत दिइने रकममा दुई हजार रुपैयाँ थप गरी ५ हजार १ सय रुपैयाँ पुर्‍याइएको झाले बताए । यसअघि पुरस्कृत हुनेलाई ३ हजार १ सय दिइँदै आएको थियो ।

यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागरिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ ।

ताजा समाचार