महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का पाँच स्थानमा पक्की पुल निर्माणका लागि झण्डै साढे १७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री एनपी साउदको पहलमा केन्द्र सरकारबाट आएको यो बजेटले जिल्लाको बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका विभिन्न बस्तीहरूलाई वर्षैभरि सुरक्षित र भरपर्दो आवागमनको सुविधा दिने अपेक्षा गरिएको छ ।
स्वीकृत बजेट अन्तर्गत बेदकोट नगरपालिका–३ र ५ का समादैजी र पोल्खरी गाउँलाई जोड्ने पुल निर्माणका लागि ३ करोड ४७ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी बेदकोट नगरपालिका–७ र ६ स्थित चौखुट्टी–मुसेपानी क्षेत्रलाई जोड्ने पुल निर्माणका लागि पनि झण्डै साढे तीन करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै, कृष्णपुर नगरपालिका–८ र कैलालीको धनगढी उप-महानगरपालिका–१३ (मझगाउँ–श्रीलंका) बीचको नदीमा पक्की पुल निर्माण गर्न पनि साढे तीन करोड बराबरको बजेट व्यवस्था गरिएको छ ।
कृष्णपुर नगरपालिका–१ मा रहेको भेटघाट शिविर र सुन्दरीफाँटा जोड्ने पक्की पुल निर्माणका लागि झण्डै साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ भने शुक्लाफाँटा नगरपालिका–१० मा पर्ने अमरपुर–सिसैया क्षेत्रको सुनवरा खोलामा पक्की पुल बनाउन पनि झण्डै त्यत्तिकै बजेट स्वीकृत भएको छ ।
स्थानीयबासीका अनुसार, पुल निर्माणले बर्खायाममा आवतजावतमा हुने कठिनाइ अन्त्य गर्नेछ भने कृषक, विद्यार्थी, बिरामी र व्यवसायी सबैले यसबाट प्रत्यक्ष लाभ पाउनेछन् ।
सडक सञ्जालसँग राम्रोसँग जोडिएपछि स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुनेछ, शिक्षण संस्थामा पुग्न सहज हुनेछ र स्वास्थ्य सेवामा पहुँचसमेत सहज हुने विश्वास गरिएको छ ।
यस्ता पूर्वाधारले स्थानीय जीवनस्तर उकास्नुका साथै क्षेत्रीय समृद्धिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । उक्त निर्माण कार्य छिटोभन्दा छिटो शुरु गरि सम्पन्न गर्नुपर्नेमा स्थानीयमा स्थानियहरुले जोड दिएका छन् ।