कञ्चनपुरका दृष्टिविहीन कुँवरलाई हात मुख जोर्न दाताकै भर

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा नदीको छेउमा बस्दै आएका छन्।विज्ञापन

निकुञ्जले सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौज परिचालन गरी विस्तारित क्षेत्रबाट विसंं २०५९ मा धेरै परिवारलाई हटायो । त्यसमध्ये कँुवरको परिवार पनि परेको थियो । निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइएपछि बास स्थानको खोजी गर्दै कुँवर परिवार नदीको छेउमा बस्दै आएका छन्।

“बुबाआमाको मृत्यु पछि तारापुरबाट हटाइएपछि केही समय सडक किनारामै खुला आकाशमा बसे”, कुँवरले भने, “नदी छेउको खाली जग्गामा झुपडी बनाएर बसेपछि सबैले सहयोग गरे, नदी छेउ भएकाले निकै जोखिम छ, अर्को समस्या साँझ बिहानको खाना खर्च जुटाउने नै हो।”

कुँवर १४ वर्षको छँदा उहाँका दुवै आँखाको ज्योति गुमेको हो। उनले उपचारका लागि भारतको अलइण्डिया, सीतापुर, कैलालीको गेटासम्म पुगे पनि आँखाको गुमेको ज्योति फर्काउन सकेनन्। घरका एक्ला कमाउने कुँवरका कान्छा भाइको विसं २०६४ मा २४ वर्षकै उमेरमा भारतमा रेल दुर्घटामा परेर मृत्यु भएपछि भाइ बुहारी र उहाँका दुई बच्चासँग बस्दै आएका छन्।

उनी बुहारी र भाइका छोराछोरीलाई पढाउने कार्यका लागि खर्चको जोहो मिलाउन दातृ निकाय गुहार्दै आएका छन्। कुँवरले अपाङ्ताका आधारमा पाइने नीलो रङको परिचयपत्र पाएका छन्। त्यसबाट आउने थोरै रकमले घर खर्च चलाउन सकिने अवस्था भने छैन । भाइका छोराछोरीलाई दातृ निकायले दिएको सहयोगले धानिएको उनले बताए।

“जग्गा जमिन छैन, घरमा कमाउने पनि छैनन्, अरुसँगै हात थापेर गुजारा चलाउनु बाध्यता हो”, उनले भने, “सरकारले पुनः स्थापन गराएर घरजग्गाको व्यवस्था गरे जीविका चलाउन सहज हुन्थ्यो।” घरको सबै खर्च दातृ निकायकै भरमा चलेको उनी बताउछन्। कुँवर अहिलेसम्म अविवाहित हुन् ।रासस

ताजा समाचार