कक्षा १२ सहित विश्वविद्यालयका परीक्षा स्थगित गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।
परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् । ‘हामीले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेका छौं’ उनले भने ।

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

ताजा समाचार