सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठुलो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेससभामा नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजवादी ठुलो बनेको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यो संगै समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या १३ पुगेको छ । यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउँद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गरेका थिए ।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ । पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी यसअघि नै ओली समूहमा खुलिसकेका थिए ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२,नेकपा एकीकृत समाजवादीका १३, नेकपा एमालेमा १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

ताजा समाचार